×
अर्थ डेली प्रकाशित: २०७५-११-८ गते

छोरीभन्दा आमा तरुनी’ देखि ‘लुट्न सके लुट’ सम्म : यस्ता छन् विवादित गीतका नालीबेली

छोरीभन्दा आमा तरुनी’ देखि ‘लुट्न सके लुट’ सम्म : यस्ता छन् विवादित गीतका नालीबेली

लोक गायक गायक पशुपति शर्माको ‘लुट्न सके लुट‘।’ बोलको गीतका कारण यतिबेला नेपाली साङ्गीतिक क्षेत्र तातेको छ । केही दिनयता राजधानीका सडकदेखि सदनसम्म यही गीतको चर्चा परिचर्चा भइरहेको छ । सामाजिक सञ्जालमा पनि गीतका विषयले प्राथमिकता पाइरहेको छ । गीतको पक्ष तथा विपक्षमा बहस चलिरहेकै छ ।

शर्माले गत शुक्रबार ‘लुट्न सके लुट कान्छा’ बोलको गीत यूट्युबमार्फत बाहिर ल्याएका थिए । गीत सार्वजनिक हुनेबित्तिकै विवादमा तानिएको थियो । गीतमा प्रयोग भएका भ्रष्टाचारका शब्दले सत्तारुढ दल नेकपाका नेता तथा कार्यकर्तालाई चिढ्यायो । गीतमा प्रयोग भएका शब्दका विषयमा यो दलका युवा सङ्घले समेत गम्भीर आपत्ति जनाएको थियो, जसका कारण गायक आफैले गीत युट्युबबाट हटाए ।

गीतमा प्रयोग भएका केही शब्द सच्याएर ल्याउने भन्दै उनले गीत हटाएका थिए । गीत हटाइएपछि गीत हुबहु ल्याउनुपर्छ भन्नेको पक्ष तथा विपक्षमा बहस सिर्जना भएका छन्, जुन बहस अहिले पनि जारी छ । हुन त शब्दका कारण गीत विवादित बनेको यो पहिलो घटना भने होइन । यसअघि पनि थुप्रै गीत शब्दका कारणले विवादमा तानिएका थिए ।

गायक पशुपतिले नै सन् २०१४ मा ल्याएको तीज गीत ‘हामी नेपाली हौँ’ समेतको विवादित भएको थियो । उनले गीतमा एक जातीय समुदायलाई सम्बोधन गर्न प्रयोग भएको शब्दलाई लिएर विवाद भएको थियो । वि.सं. ०४८ सालमा गायक कुमार बस्नेतले रेकर्ड गराएको गीत ‘छोरीभन्दा आमा तरुनी’ भन्ने गीत रेडियो नेपालको केन्द्रीय प्रसारणले बज्न ‘प्रतिबन्धित’ गरेको थियो । उनको ‘बम बम बम’माथि पनि प्रतिबन्ध लागेको थियो ।

गायिका कोमल ओलीको ‘पोइल जान पाम’ गीत विवादका कारण सर्वोच्चसम्म पुगेको थियो । सो समय क्यासेट समेत जलाइयो ।खेम गुरुङको ‘वारी जमुना पारी जमुना’ गीतमा ‘पोडे होला, चमार होला तिमै्र माया लाग्छ‘’ भन्ने शब्दको विरोध भएका कारण परिमार्जित गरेर बजारमा ल्याएका थिए ।गायक तथा सङ्कलक कमलीकान्त भेटवालको गीत ‘झम्के गुलेली‘’ मा पोई भन्ने शब्द विवादमा परेकाले गायकले ‘पोइ’को ठाउमा ‘ओइ’ राखेका थिए । गायक जे पापीले सन् २०१२ मा ल्याएको गीत ‘काट्टो खानेहरू’ समेत विवादमा तानिएको थियो ।

स्वर्गीय गायक तथा सङ्गीतकार अमर गुरुङको गीत ‘सुगौली सन्धि हामीले भुलेको छैन’ गीत विवादका कारण प्रतिबन्धित थियो । नेपाल र भारतबीचको मित्रता माथि गीतले प्रहार गरेको तत्कालीन ठम्याइ थियो ।गायक प्रकाश कटुवालको ‘ढाडे बिरालो’ गीतसमेत विवादमा तानिएको थियो । यो गीतमा प्रयोग गरिएका शब्द तथा म्युजिक भिडियो मोडल ज्योती मगरको प्रस्तुति विवादका विषय थिए ।सुवास रेग्मीको ‘कुकुर बिरालो’ गीत पनि विवादमा परेकै हो । यी त उदाहरण मात्र हुन् । नेपाली सङ्गीतिक बजारमा भित्रिएका थुप्रै गीत विवादमा मुछिएका छन् ।

गीतमा चोट !

पछिल्लो समय गीत सङ्गीतलाई बौद्धिक सम्पत्ति भन्ने गरिन्छ । त्यसैले पनि गीतका शब्दले व्यक्ति, समाज र राष्ट्रलाई चोट पुग्नु नहुने सङ्गीतकार सन्तोष श्रेष्ठ बताउँछन् ।गीतमा कुनै पनि पद र संस्थाको विषयमा नराम्रो शब्द प्रयोग गर्नुहुँदैन’, श्रेष्ठले भने, ‘पदमा बस्ने व्यक्ति पो खराब हुनसक्छ । पद त कहिल्यै खराब हुँदैन ।’

गीत सङ्गीत सस्तो लोकप्रियताका लागि सिर्जना गर्ने नभई भोलिका दिनमा पछिल्लो पुस्ताले पनि गुनगुनाउन सक्ने हुनुपर्छ भन्ने श्रेष्ठको तर्क रहेको छ । आसा र उत्साहबिना मानिसको कुनै पनि उपलब्धि सम्भव नभएको बताउँदै श्रेष्ठले गीत सङ्गीत आसा र उत्साह जगाउने खालका हुनपर्ने भनाइ राखे ।

गीत सङ्गीतमा कुन शब्द प्रयोग गर्ने, नगर्ने भन्दा पनि प्रयोग भएका शब्द कुन अवस्थामा प्रयोग भएको छ र त्यसले के अर्थ दिएको छ भन्ने महत्त्वपूर्ण हुने गीतकार राजेन्द्र थापाले बताए ।‘पुशुपतिको गीतमा प्रयोग भएका शब्दले भ्रष्टाचारलाई प्रश्रय दिने नभई भ्रष्टाचारबाट निरास जनताको आवाज समेटेको छ’, थापाले भने ‘गीत सङ्गीत जनताको सन्देश व्यक्त गर्ने माध्यम पनि हो ।’ कलाकारले मनमा लागेको कुरा व्यक्त गर्न पाउनु उसको स्वतन्त्रता भएको थापा बताउँछन् ।

गायिका तथा राष्ट्रियसभा सदस्य कोमल ओलीले कलाकारले सिर्जनाको नाममा सीमा नाघ्न नहुने धारणा अगाडि सारिन् । उनी भन्छिन्, ‘कलाकार स्वयंले मेरो दायित्व के र मैले के गर्न हुँदैन रु त्यसको राम्ररी जानकारी राख्नुपर्छ ।’

किन धेरै चर्चित ?

प्रगतिशील र ऊर्जामुलकभन्दा निरासा र आक्रोस भरिएका गीत सङ्गीतले छिट्टै बजार पिट्ने गरेका छन् । खासगरी, त्यस्ता गीतसंगीतले जनतामा गुम्सिएर रहेको निराशा, आक्रोश र कुण्ठा धेरथोर निकास गरिदिने भएकोले पनि त्यस्ता गीतहरु रातारात चर्चित हुने गरेको पाइन्छ । ‘जनताले यस्ता गीतमा प्रत्यक्ष रूपमा आफ्नो पीडा पाउने भएकाले रुचाउने गरेको’ गीतकार थापा बताउँछन् । ‘पशुपति शर्माको गीतमा पनि जनताको पीडा थियो । त्यसैले छिट्टै चर्चित भयो’ थापाले थपे ।

गीतकार थापाको भनाइप्रति सङ्गीतकार दीपक जङ्गमले पनि समर्थन जनाउँछन् । ‘आफ्नो मनभित्रको पीडा जनताले जुन गीतमा पाउँछन्, त्यो गीत बढी रुचाउँछन्’ जङ्गमले भने, ‘जनताले त्यस्ता गीत सुन्नु भनेको गीतले उठाएको विषयको समर्थन गर्नु पनि हो ।’

गीतको चर्चाको विषयमा सङ्गीतकार सन्तोष श्रेष्ठको भनाइ भने थापा र जङ्गमको भन्दा केही भिन्न छ । उनी नेगेटिभ कुरामा मानिसले छिटो चासो दिने भएकाले यस्ता गीत सङ्गीतले छिट्टै बजार पिट्ने बताउँछन् । नेगेटिभ गीत सङ्गीतको छिटो हुने चर्चाले हामीमा नेगेटिभ क्रियाकलाप बढिरहेको छ भन्ने पुष्टि हुने श्रेष्ठको भनाइ रहेको छ । मिडियामा चर्चा भएका विषय समेटिएका गीत सङ्गीत छिट्टै चर्चित हुुने लोक गायक कुमार बस्नेतको धारणा रहेको छ ।

सकारात्मक गीतमा कति रुचि ?

पछिल्लो समय साङ्गीतिक बजारमा सातामै दुई दर्जनभन्दा बढी नयाँ गीत सङ्गीत भित्रिने गरेका छन् । त्यसरी भित्रिने गीत सङ्गीतमध्ये थोरै मात्र सकारात्मक सन्देश बोकेका हुने गरेका छन् । जुन गीतसङ्गीत बजारमा आएलगत्तै हराएको वा खासै चर्चा हुने नगरेको देख्न पाइन्छ ।

‘हामीमा नेगेटिभ क्रियाकलाप बढ्दो रहेकाले सकारात्मक सन्देश बोकेका गीतसङ्गीत पछिपर्ने गरेको’ सङ्गीतकार दीपक जङ्गम बताउँछन् ।नकारात्मक विषयतिर सबैको ध्यान छिटो जाने भएकाले सकारात्मक गीत सङ्गीत पछिपरेको गायिका तथा लेखक चन्द्रकला बताउँछिन् । ‘अहिले धेरै मानिसका सकारात्मक सोच नै छैन’ उनले भनिन्, ‘त्यो देशको खराब अवस्थाले गर्दा हो ।’

सेन्सरको कुरा

पछिल्लो समय गीत सङ्गीतमा आपत्तिजनक शब्दहरू निकै प्रयोग हुने गरेका छन् । यस हिसाबले पनि यसमा अब सेन्सरको आवश्यकता रहेको आवाजसमेत एकाथरिले उठाउन थालेका छन् ।

तर गीतकार थापा गीत सङ्गीत सेन्सर गर्नुपर्ने पक्षमा आफू नरहेको उनी बताउँछन् । गीतसङ्गीत र साहित्यमा विश्वमै सेन्सर नभएको भन्दै उनले चलचित्रमा रहेको सेन्सर पनि हट्नुपर्ने बताए ।

गायक कुमार बस्नेत भने गीतसङ्गीतमा देखिएको विकृतिले सेन्सरतिर सोच्नुपर्ने अवस्था डोर्याएको बताउँछन् । पशुपतिको गीतको विवाद प्रसङ्ग उनले तरकारीमा भएको चर्को नुनसँग तुलना गरे । उनले भने, ‘नुन ठिक्क हाल्यो भने मात्र तरकारी मिठो हुन्छ । नत्र काम नलाग्ने ।’

पशुपतिको गीत कति ठीक ?

नेपाली बजारमा आएका लोक गीतसङ्गीत नियाल्ने हो भने धेरैमा समाजमा यथार्थ घटनामा देख्न सकिन्छ । लोक गायक बद्री पङ्गेनी पनि लोक गीतसङ्गीत समाजका घटनाबाट बन्ने गरेको बताउँछन् । बद्रीले पशुपतिको गीतमा पनि समाजकै घटना रहेको बताए ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

सम्बन्धित समाचार

लाठी र बुट बर्सिएपछी यस्तो आयो कविता

लाठी र बुट बर्सिएपछी यस्तो आयो  कविता

ठों नेपाल मण्डलः खः प्रभाती रविको आलोकमा शिवपुरीले भन्दै छ तिमीलाई ओ भाइचा, आउ हामी सँगै लडाैं  हो भाइ..

बलिउड गायिका नेहा कक्करको ठमेल कन्सर्टका आयोजक पक्राउ

बलिउड गायिका नेहा कक्करको ठमेल कन्सर्टका आयोजक पक्राउ

काठमाडौं । प्रहरीले भारतीय गायिका नेहा कक्करको काठमाडौं प्रस्तुतीमा हल क्षमताभन्दा बढी टिकट बिक्री गरेको अभियोगमा प..

चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित

चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित भएका छन्। सरिता लामिछानेलाई ५७ मतान्तरल..

महजोडीका श्रेष्ठलाई ‘वसुन्धराश्री’ र आचार्यलाई ‘मानश्री’ पुरस्कार प्रदान गर्ने निर्णय

महजोडीका श्रेष्ठलाई ‘वसुन्धराश्री’ र आचार्यलाई ‘मानश्री’ पुरस्कार प्रदान गर्ने निर्णय

 काठमाडौं । वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठानले हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई विक्रम सम्वत २०७६ सालक..

Loading...